डिभिजन वन कार्यालय लमजुङलाई उत्कृष्ट कार्यालय घोषणा

५ फाल्गुण, २०७८

गण्डकी प्रदेश सरकारले डिभिजन वन कार्यालय लमजुङलाई उत्कृष्ट कार्यालय घोषणा गरेको छ । 
जिल्लामा रहेका प्रदेश मातहतका कार्यालयमध्ये डिभिजन वन कार्यालय उत्कृष्ट बन्न सफल भएको हो । प्रदेश सरकारले आफ्नो स्थापना दिवसको दिन बुधबार उत्कृष्ट कार्यालयको रुपमा घोषणा गरेको कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत पूर्णेश्वर सुबेदीले बताउनुभयो । कार्य मूल्यांकन मापदण्डको आधारमा कार्यालय उत्कृष्ट बनेको हो । कार्यालयको भवन, कार्यालय परिसर, सरसफाई, शौचालय व्यवस्थापन, सूचना बोर्ड, नागरिक बडापत्र, खानेपानी व्यवस्थापन, फाइल व्यवस्थापन, हल, फिल्डको गतिविधी, दैनिक सेवा प्रवाह, कर्मचारी अनुशासनलगायतको कुरालाई मूल्यांकन गरिएको थियो । कार्यालयले नयाँ खालका कामको पनि सुरुवात गरेको थियो । लमजुङ जिल्लाको डिजिटल नक्सा निर्माण, किताब प्रकाशन समेत गरेको थियो । 
सबै कर्मचारीको साथ र सहयोगबाट कार्यालय उत्कृष्ट बन्न सफल भएको सुवेदीले बताउनुभयो । उहाँले कार्यालयमा कार्यरत कर्मचारीलाई धन्यवाद दिनुभएको छ । प्रदेश सरकारले उत्कृष्ट घोषित गर्दा थप हौसला र ऊर्जा मिलेको बताउनुभयो । कर्मचारी अभावका बाबजुत पनि राम्रो काम गर्न सफल भएको उहाँले बताउनुभयो । आगामी दिनमा अझ मेहेनत र उत्साहका साथ काम गर्ने बताउनुभयो ।

डिभिजन वन कार्यालय, लमजुङ © 2018 | Design and Developed by : Vision Computer Sewa - 9846084315 | Email: visioncomputersewa@gmail.com